काठमाडौँ। काठमाडौँको अनामनगरस्थित घट्टेकुलोमा ‘काठमाडौँ नेशनल मेडिकल कलेज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। वीरगन्जका व्यावसायी बसरुद्दीन अन्सारीले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालले सेवा सुरु गरेको अवसरमा सर्वसाधारणका लागि विभिन्न विशेष योजनाहरू पनि घोषणा गरेको छ।
अस्पतालको उद्घाटनसँगै ओपीडी सेवा पूर्ण रूपमा निशुल्क गरिएको छ। यसका साथै अन्य सेवाहरूमा पनि सुरुवाती चरणमा छुट दिइने अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा विभिन्न विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिनेछ, जसमा जेनेरल मेडिसिन, जेनेरल सर्जरी, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, बाल रोग, नाक–कान–घाँटी, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, आँखा, नसा, मुटु, किड्नी, मूत्र तथा छाती रोगको उपचार समावेश छन्।
अस्पतालमा २४ घण्टा आपतकालीन (इमर्जेन्सी) सेवा उपलब्ध हुनेछ। यसबाहेक, एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स(रे, फिजियोथेरापी लगायतका सेवामा पनि विशेष छुट दिइने बताइएको छ। अस्पताल परिसरमै फार्मेसी सेवा पनि सञ्चालनमा आइसकेको छ।
हाल अस्पतालमा १५ बेडको आईसीयू, १५ बेडको एचडीयू, १५ बेडको नियोनेटल आईसीयू र १६ बेडको इमर्जेन्सी वार्ड तयार भइसकेका छन्। १७४ बेड क्षमताको संरचना निर्माण भए पनि प्रारम्भिक चरणमा १०० बेडको स्वीकृति लिई सेवा सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

