काठमाडौं । सीमा क्षेत्रमा केही दिनको झडपपछि कम्बोडिया र थाइल्याण्ड युद्धविरामका लागि सहमत भएका छन्। आइतबार दुवै देशका नेताहरूले एकैसाथ विज्ञप्ति जारी गर्दै युद्धविरामको घोषणा गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्धविराम भएको पुष्टि गरेका छन्। उनले यसअघि नै हप्ताको सुरुवातमा आफूले दुवै पक्षका नेताहरूसँग भेटेर युद्धविरामको पहल गरेको बताएका थिए। ट्रम्पले सीमामा झडप जारी रहे युद्धमा संलग्न हुने देशहरूमाथि व्यापार प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएका थिए।
यसै महिनाको सुरुवातमा उनले अगस्ट १ देखि लागू हुने गरी थाइल्याण्ड र कम्बोडियाबाट अमेरिका निर्यात हुने सामानमा ३६ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।
आइतबार बिहान कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले एक विज्ञप्ति जारी गर्दै आफ्नो देश युद्धविरामका लागि तयार रहेको बताएका छन्। उनले यस पहलका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै आसियानको नेतृत्व गरिरहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि यसका लागि प्रयास गरेको उल्लेख गरेका छन्।

