रौतहट । रौतहटको माधवनारायण नगरपालिका–५ मिठुअवामा आज आम जनता पार्टी परित्याग गरी सयौं कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई माओवादी केन्द्रका उपमहासचिव एवं मधेश प्रदेश इन्चार्ज मातृका यादवले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । राम एकवाल साह र विनोद रामको नेतृत्वमा सयौं जनाले माओवादी केन्द्र रोजेका हुन्। आम जनता पार्टी प्रभु साहले नेतृत्व गरेको पार्टी हो ।
पूर्व माओवादी नै रहेका प्रभु साह एमाले र माओवादीको विभाजनपछि एमाले गएर पछि आफैले आम जनता पार्टी स्थापना गरेका थिए । साहलाई केन्द्रीय पदाधिकारीले नै छोडेर गईसकेका छन् ।
उनी आफू केन्द्रीत नेता भएकाले पनि कार्यकर्ताहरु उनीप्रति नकारात्मक हुदै गएका छन् । रौतहट जिल्ला पार्टीले नवप्रवेशी सम्पूर्णलाई हार्दिक स्वागत गर्दै उनीहरूलाई सम्मानजनक जिम्मेवारी दिने प्रतिबद्धता जाहेर गरेको पार्टीका रौतहट जिल्ला इञ्चार्ज अशोक जयसवालले जानकारी दिए ।