वीरगन्ज । वीरगन्ज कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको लागि अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको छ । शैक्षिक सत्र २०८२ मा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुका लागि कलेजमा उपलब्ध गराईने शिक्षण सिकाई तथा अभ्यासहरुको बारेमा जानकारी गराईएको थियो ।
कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले विद्यार्थीहरुलाई अनुशाशित र लगनशील भएर मेहेनत गरेमा सफलता प्राप्त गर्न सकिने बताए ।
उनले अहिले उच्च शिक्षा हासिल गर्नेहरु पनि बेरोजगार बस्नुपर्ने अवस्था रहेकोले कलेजले ल्याएको ‘सिक्दै कमाउदै’ कार्यक्रममा आयमूलक सीपहरु सिकेर साना साना व्यावसायबाट आयआर्जन गर्ने व्यावहारिक शिक्षामा जोड दिए ।
कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, सञ्चालक समिति सदस्य तथा प्रशासन प्रमुख सुरेश चौधरी, परीक्षा संयोजक डिके जयसवाल, बीबीएस कोअर्डिनेटर दीपेशलाल दास, कानून समूहका संयोजक रामनाथ महतो, धन बहादुर थापा, कलेजका शिक्षकहरु डा.अशोकराज ठाकुर, जीतेन्द्र पटेल लगायत कलेजका सम्पूर्ण फ्याकल्टीका शिक्षकहरुले विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।
कक्षा ११ मा कानून र पत्रकारिता अध्यापन गराउने उपत्यका बाहिरको पहिलो कलेज वीरगन्ज कलेजमा नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा झण्डै १५० जना विद्यार्थीहरुले अभिमूखीकरणमा भाग लिएको कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले जानकारी दिए । कक्षा ११ मा तीनसय जना विद्यार्थी पु¥याउने लक्ष्य कलेजको रहेको उहाँले बताए ।
वीरगन्ज कलेज सञ्चालन गरेको समूहले नै सूदुरपश्चिम विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेज एपेक्स म्यानेजमेण्ट कलेजमा बीबीए, राजर्षी जनक विश्व विद्यालयको सम्बन्धन प्राप्त वीरगन्ज मल्टिपल कलेजमा एमबीए विषय अध्यापन गराईरहेको छ ।