वीरगन्ज । बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। बुधबार गते दिउँसो करिब ३ बजेको समयमा जितपुरसिमरा उप(महानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट ७ किलो ४७० ग्राम लागुऔषध गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बमजनको कमान्डमा खटिएको प्रहरी टोलीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गर्दा यो सफलता मिलेको हो।
बसमा सवार शंकास्पद देखिएका एक व्यक्तिले साथमा लिएको कालो झोला खोलेर हेर्दा त्यसभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीको नियन्त्रणमा आएका व्यक्ति जिल्ला सर्लाही, विष्णु गाउँपालिका वडा नम्बर ३ मधुवनगोठ बस्ने अन्दाजी ५४ वर्षीय वीरेन्द्र चौधरी रहेको खुलेको छ। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।