वीरगञ्ज । वीरगञ्ज महानगरमा गहिरिँदो खानेपानी संकटको सन्दर्भमा बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ। छलफलमा सहभागी सरोकारवाला पक्षहरूले समस्या समाधानका लागि समन्वय, दीर्घकालीन योजना र निष्पक्ष वितरण प्रणाली आवश्यक रहेकोमा एकमत जनाए।
छलफलको अध्यक्षता गर्दै महानगर प्रमुख राजेशमान सिंहले अभावग्रस्त क्षेत्रमा पानी ट्यांकरमार्फत दैनिक करिब डेढ लाख लिटर पानी आपूर्ति भइरहेको जानकारी दिए। पाइपलाइन पुगेका स्थानहरूमा धारा जडान प्रोत्साहन कार्यक्रम र विभिन्न वडामा डिप बोरिङको पहलसमेत अघि बढाइएको उनले बताए।
खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जको समस्या गम्भीर रहेको स्वीकार्दै स्थानीय तहसँग सहकार्यमा सरकार लागिपरेको स्पष्ट पारे। स्रोतको प्रभावकारी परिचालन र दीर्घकालीन योजना निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका अध्यक्ष हरि पन्तले धारा जडानका लागि वडा कार्यालयमा लाग्ने दस्तुर केही समयका लागि निःशुल्क गर्न माग गरे। साथै, खानेपानी संस्थानमा थुप्रिएका निवेदनहरू तत्काल प्रक्रिया अघि बढाउन मन्त्री यादवसँग आग्रह गरे।
नेपाली कांग्रेस वीरगञ्ज नगर सभापति मणिन्द्रलाल श्रेष्ठले पाइपलाइन पुगेका क्षेत्रमा डिप बोरिङ नगरी यथासम्भव प्रणालीमै आपूर्ति गर्नुपर्ने बताए। नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले दीर्घकालीन समाधानका लागि घर नक्सा पास प्रक्रियामा अन्डरग्राउण्ड टंकी अनिवार्य गर्नुपर्ने प्रस्ताव राखे।
बैठकमा सहभागी सबै पक्षले वितरण प्रणालीमा राजनीतिक पहुँच, सिफारिस वा दबाबका आधारमा हुने सम्भावित भेदभाव रोक्नुपर्नेमा जोड दिए। साथसाथै, महानगरले सुरु गरेका प्रयासहरू सराहनीय भए पनि ती योजनाहरूलाई अझ सुदृढ, समन्वित र दिगो बनाउनु पर्ने आवश्यकता औंल्याइयो।
छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू र अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।