महोत्तरी । सामाजिक सञ्जालमा स्थानीय पत्रकारहरू विरुद्ध गरिएका पछिल्ला आरोप र अपमानजनक टिप्पणीहरूको महोत्तरीका प्रमुख पत्रकार संघ–संगठनहरूले कडा शब्दमा निन्दा गरेका छन्।
जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयसँग सम्बन्धित समाचारहरू पछि जिल्लामा सक्रिय पत्रकारहरूको पेसागत निष्ठामाथि भएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अपमानजनक टिप्पणीको घोर निन्दा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र प्रेस मंच नेपालद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘समाचार संकलनका आफ्नै तरिका हुन्छन्, समाचारका एङ्गल पनि फरक फरक हुन्छन्। विषयवस्तुको स्पष्टता बिना जिल्लामा क्रियाशील पत्रकारहरूको व्यावसायिक निष्ठामाथि भएको आक्रमण समग्र पत्रकारितालाई बदनाम गर्ने प्रोपगण्डा भइरहेको हाम्रो ठहर छ।’
सामुदायिक प्रसारक संघ (अकोराब) मधेश प्रदेशकी अध्यक्ष उपासना तिवारीमाथि भएका ‘निकृष्ट टिप्पणी र आरोपहरू’ लाई ‘निन्दनीय’ भनेका छन्। विज्ञप्तिमा सामाजिक सञ्जालमा टिप्पणी गर्ने व्यक्तिहरूलाई विषयवस्तुको स्पष्टताका साथ प्रस्तुत हुन आग्रह गरिएको छ।
यसले सम्बन्धित निकायहरूलाई पनि यस विषयमा संवेदनशील हुन आह्वान गरेको छ। यसबाहेक, पत्रकार संघरसंगठनहरूले आगामी दिनमा सामाजिक सञ्जालमा हुने टिकाटिप्पणी तथा आरोप–प्रत्यारोपले सामाजिक सद्भाव बिग्रिने भएकाले समयमै सजग हुन चेतावनी दिएका छन्।
बिहीबार जारी गरिएको विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, महोत्तरीका अध्यक्ष महेश कुमार दास, प्रेस युनियन, महोत्तरीका अध्यक्ष सन्तोष कुमार सिंह, प्रेस चौतारी नेपाल, महोत्तरीका अध्यक्ष राम नारायण महतो, प्रेस सेन्टर नेपाल, महोत्तरीका अध्यक्ष विशाल बस्नेत र प्रेस मंच नेपाल, महोत्तरीका अध्यक्ष अरविन्द कुमार झा को हस्ताक्षर रहेको छ।