काठमाडौँ । देशको अर्थतन्त्र एकै वर्षमा ४ खर्ब रुपैयाँले विस्तार भएको छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा ५७ खर्ब रुपैयाँ रहेको अर्थतन्त्रको आकार चालू वर्षमा ६१ खर्ब रुपैयाँ पुगेको हो।
राजस्व संकलन पनि उल्लेख्य रूपमा बढ्दै १ खर्ब ८ अर्ब रुपैयाँले वृद्धि भएको छ। पूँजीगत खर्च ३६ अर्बले बढेको छ भने निजी क्षेत्रलाई प्रवाहित कर्जा ८.७ प्रतिशतले विस्तार भएको छ। अघिल्लो वर्ष यो वृद्धि दर ५.६ प्रतिशत मात्र थियो।
रेमिट्यान्स १५.५ प्रतिशतले, निर्यात ७७.८ प्रतिशतले र आयात १३.१ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणअनुसार अर्थतन्त्रका १८ वटा प्रमुख क्षेत्रहरू — जस्तै यातायात, व्यापार, उद्योग, बैंक, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा आदि — सकारात्मक अवस्थामा देखिएका छन्।
नीतिगत सुधारतर्फ सरकार सक्रिय रहेको देखिएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, भन्सार महसूल ऐन, निजीकरण ऐन लगायतका कानुन संशोधन र नयाँ विधेयकहरू अगाडि बढाइएको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुनु, उच्चस्तरीय आर्थिक सुझाव आयोग गठन र कार्यान्वयन सुरू हुनु, निजी क्षेत्रको गुनासा सुनुवाइ र भुक्तानी समस्याको समाधान पनि मन्त्रालयले उपलब्धिका रूपमा औँल्याएको छ।
तर, मन्त्रालयले ‘ग्रे लिस्ट’ बाट बाहिरिने चुनौतीलाई अझै अर्थतन्त्रको महत्वपूर्ण कार्यसूची मानेको छ।