काठमाडौं। नेकपा एमालेका सांसद सूर्य थापाले पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पनि नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल पदमै टाँसिएर बसेको भन्दै चर्को आलोचना गरेका छन्। थापाले नेता नेपालको यो कार्यलाई ‘पदलोलुपता ज्यादै अशोभनीय र मजाकपूर्ण’ भनेका छन्।
भ्रष्टाचार मुद्दा दायर भएसँगै संसदबाट निलम्बित भएका नेता नेपालले हालसम्म पार्टी अध्यक्ष पद भने छोडेका छैनन्। सोही विषयमा पार्टीभित्रै विरोध भइरहेको सन्दर्भमा सांसद थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राखेका हुन्।
थापाले फेसबुकमा लेखेका छन्, “अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पनि पदमा टाँसिरहनु नैतिकहराम कार्य हो। यो अरूलाई सिकाउने र आफूले चाहिँ मनपरि गर्ने द्रैधचरित्रको प्रदर्शन किमार्थ पनि होइन! जीवनको उत्तरार्धमा कस्तो देखिने, सुनिने र लेखिने उहाँ लगायत सम्बन्धित व्यक्तिहरूले नै स्वघोषणा गर्नु उचित हुन्छ। पार्टी फुटाएर बनाएको सानो टुक्राको मुखिया भइरहने रहिरहने पदलोलुपताले नैतिकताको हुर्मत लिएको दृश्य परिदृश्य ज्यादै अशोभनीय र मजाकपूर्ण भएको छ।”