वीरगञ्ज । प्रहरीले चोरी भएको एक मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बस्ने १९ वर्षीय विद्यानन्द महतो रहेका छन्।
मिति २०८२ असार ९ गते राति ८ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कोनिया टोलस्थित विजय पटेलको घरअगाडि पार्किङ गरिएको मधेश प्रदेश–०३–०३५ प ७७४५ नम्बरको कालो रङ्गको सुपर स्पलेन्डर मोटरसाइकल चोरी भएको थियो। उक्त मोटरसाइकल वडा नम्बर २१ बस्ने रामज्ञा साहको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी मिलनचोकबाट खटिएको चेकिङ टोलीले चोरी भएको मोटरसाइकलसहित महतोलाई २०८२ असार १५ गते राति ८ बजेर ३० मिनेटमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका महतोलाई हाल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ। उनीविरुद्ध चोरीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।