वीरगन्ज । आज असार १५ गते, देशभरि राष्ट्रिय धान दिवस मनाइँदैछ। विसं २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयपश्चात् २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीमा संलग्न किसानका साथै अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि यस दिन दही चिउरा खाएर यो पर्व मनाउने गर्छन्।
दहीको सांस्कृतिक र वैज्ञानिक महत्त्व
हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। कुनै पनि शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने वा अन्य महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकार्यमा निस्कनुअघि सगुनका रूपमा दही खुवाएर बिदाइ गरिन्छ, जसले साइत पर्ने जनविश्वास रहिआएको छ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। यसले पाचन शक्ति बढाउनुका साथै पखाला लागेका बेला दही चिउरा खाँदा औषधिको काम गर्ने विश्वास गरिन्छ। यही कारणले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा व्यापक रूप लिएको छ।