ललितपुर। नेपाली कांग्रेसले सानेपामा रहेको केन्द्रीय कार्यालय विस्तार गर्नका लागि रु १३ करोडको जग्गा खरिद गर्ने सम्झौता गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार, “नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यालय अगाडिपट्टि रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ।”
कांग्रेसले ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको उक्त जग्गा र घर रु १३ करोडमा खरिद गर्ने निर्णय गरेको हो। खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी रु ५० लाख बैनासहित सम्झौता भएको कांग्रेसले जनाएको छ।