काठमाडौं। थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उद्धार गरिएका सात नेपाली नागरिकलाई बुधबार स्वदेश फर्काएको छ। उनीहरूलाई अनलाइन स्क्यामिङ कार्यमा लगाइएको दूतावासले जनाएको छ।
बैंककस्थित नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइ सातजना पुरुषहरूलाई २०८२ असार ११ गतेका दिन नेपाल फर्काइएको छ।”
दूतावासले नेपाली नागरिकहरूलाई नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ। साथै, कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नजान पनि दूतावासले आग्रह गरेको छ।