जनकपुरधाम। मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र रु १ लाख १७ हजार ५२० जरिवाना तिराउने फैसला गरेको हो।
उपाध्याय ७ वैशाखमा अध्यक्ष नियुक्त भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वैशाखमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जसपश्चात् उनी निलम्बित भएका थिए। अख्तियारले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐन छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्दै मुद्दा अभियोजन गरेको थियो।
अन्य संलग्न व्यक्तिहरूमाथि फैसला
विशेष अदालतले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई पनि ६ महिना कैद सजाय र रु १ लाख १७ हजार ५२० जरिवाना गराउने फैसला गरेको छ।
यद्यपि, नगरपालिकाका लेखापाल हासिल मिया अन्सारीले भने सफाइ पाएका छन्। विशेष अदालतले अन्सारीले प्रमुख प्रशासकीय अधिकृतको आदेश अनुसार भुक्तानी मात्रै दिएको र उनीविरुद्ध ठोस एवं वस्तुनिष्ठ प्रमाणबाट दोषी पुष्टि नभएको ठहर गरेको छ।
अख्तियारको अभियोजन र आरोप
अख्तियारले यादव, अन्सारी र उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसूर गरेकोले बिगो रकम रु ३ लाख ५२ हजार ५६० कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असुल उपर गर्न विशेष अदालतसमक्ष माग दाबी गरेको थियो।
अख्तियारको अभियोजनपत्रमा उल्लेख भएअनुसार, आर्थिक वर्ष २०७७/७८ मा पचरौता नगरपालिकाबाट सञ्चालित ठेक्काहरूको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा के एस मल्टिपर्पस प्रालिका अध्यक्ष कमल कुमार उपाध्यायसमेतको मिलेमतोमा ‘प्रभाव दैनिक’ पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको थियो। अख्तियारले त्यसरी झूट्ठा विवरणसहितको पत्रिकाको आधारमा रु ३ लाख ५२ हजार ५६० उपाध्यायको केएस मल्टिपर्पस प्रालिलाई भुक्तानी दिएको पुष्टि भएको दाबी गरेको थियो।
नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव रहेका उपाध्याय बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादकसमेत हुन्।