वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोर र वीरगञ्ज क्षेत्रमा गरिरहेको अघोषित लोडसेडिङ र बिना सूचनाको विद्युत कटौतीप्रति वीरगञ्ज उद्योग वाणिज्य सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्युत आपूर्तिको यस गम्भीर समस्याले औद्योगिक क्षेत्रलाई धराशायी बनाएको बताएको छ।
सङ्घका अनुसार, बारा-पर्सा औद्योगिक कोरिडोरमा औसतमा दैनिक ८ घण्टा अघोषित लोडसेडिङ भइरहेको छ भने दिनमा १०-१२ पटकसम्म ट्रिपिङ हुने गरेको छ। यसका कारण यस क्षेत्रका उद्योगहरूले आफ्नो क्षमताको ३०-३५ प्रतिशत मात्र उत्पादन गर्न सकेको विज्ञप्तिमा उल्लेख छ।
वि.सं. २०७३ सालमा घरायसी र २०७५ सालमा औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त घोषणा गरिएको ६-७ वर्ष नबित्दै पुनः पूर्ववत् अवस्थामा लोडसेडिङ हुन थालेपछि उद्योगी, व्यवसायी र सर्वसाधारणमाझ चिन्ता बढेको सङ्घले जनाएको छ।
यस क्षेत्रमा सिमेन्ट, फलाम र स्टील, पशुदाना, खाद्यान्न, औषधि, चुरोट लगायतका ठूला उद्योगहरू सहित करिब हजारदेखि बाह्र सय उद्योगहरू सञ्चालनमा छन्। उद्योगका लागि विद्युत कच्चा पदार्थ भएको र विद्युत बिना उद्योग सञ्चालन हुन नसक्ने भन्दै सङ्घले सहज विद्युत आपूर्ति नहुँदा त्यसको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा नै परिरहेको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी समाचार सुन्छौं, नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत बिक्री गर्छ, बङ्गलादेशमा बिक्री गर्छ। हामीले बुझ्न नसकेको विषय किन विद्युत प्राधिकरणले मुलुकमा स्थापित औद्योगिक क्षेत्रहरुलाई विद्युत उपलब्ध नगराएको? यसको जवाफ कहिँबाट पनि पाइँदैन।”
विद्युत आपूर्तिमा भएको हेलचेक्र्याइँका कारण उद्योग प्रतिष्ठानहरूका करोडौंको औद्योगिक उपकरणहरू बिग्रिरहेका छन् भने उत्पादित सामानहरूको लागत बढिरहेको छ। विद्युत प्राधिकरणको यस्तो गैरजिम्मेवारीपन जारी रहे आगामी समयमा उद्योग सञ्चालन गर्न कठिनाइ भई सरकारलाई साँचो सुम्पन बाध्य हुने धारणा सङ्घको रहेको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले विद्यमान जटिल समस्या र अन्योलपूर्ण अवस्थाको शीघ्र निराकरण गर्न सम्बन्धित निकायहरूमा गम्भीर ध्यानाकर्षण गराउँदै समस्याको समाधानका लागि वैकल्पिक व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणसँग जोडदार माग गरेका छन्।