कलैया, बारा। बाराको कलैया उपमहानगरपालिका वडा नं.–१४ बघवनमा पुरानो रिसिबीका कारण भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ भने अन्य फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गत जेठ २९ गते साँझ करिब ६ः१५ बजे बघवनका ५० वर्षीय नन्दु राउत कुर्मीलाई सोही स्थानका ४० वर्षीय उमेश जैसवालसमेत ६ जना व्यक्तिहरूले मिलेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए। गम्भीर घाइते भएका कुर्मीलाई तत्काल प्रादेशिक अस्पताल कलैया बारा पुर्याइएकोमा चिकित्सकले साँझ ७ः२० बजे मृत घोषणा गरेका थिए।
अनुसन्धान र पक्राउ
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानपश्चात् घटनामा संलग्न रहेको आरोपमा सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरिएको थियो। उनलाई ज्यान सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
फरार रहेका अन्य अभियुक्तहरूको खोजीका लागि प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले असार ४ गते थप तीन जनालाई पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका वडा नं. ५ स्थित सागर लामिछानेको घरमा लुकिछिपी बसेको अवस्थामा एक जना महिला र पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १ शान्ति टोलस्थित बसिर मियाँको घरमा लुकिछिपी बसेका दुई जना पुरुषलाई पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जनालाई बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यस घटनामा संलग्न अन्य फरार आरोपितहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ।