वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा बेवारिसे मानव शरीरका अंगहरू फेला परेको घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। मिति २०८२ जेठ ३० गते साँझ करिब ५ बजे पर्सागढी नगरपालिका वडा नं.–१ स्थित निकुञ्जको भालु खोला फारलाइनमा रहेको जंगली जनावरका लागि बनाइएको पानीको खाल्डोमा नाम, ठेगाना नखुलेको एक व्यक्तिको खुट्टा, दुई हात फेला परेका थिए। सोही खाल्डोबाट करिब ३०० मिटरको दूरीमा टाउकोको अस्थिपञ्जरसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान तथा मुचुल्का कार्य सम्पन्न गरेको छ। फेला परेका मानव शरीरका अंगहरू हाल नारायणी अस्पताल वीरगन्जको शवगृहमा राखिएको छ।
प्रहरीका अनुसार, हालसम्म मृतकको सनाखत हुन सकेको छैन। मृतकलाई चिन्ने कोही व्यक्ति भएमा तत्काल जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
घटनास्थलमा अनुसन्धानका क्रममा नीलो रङको पुरुषले लगाउने पाइन्ट र सेतो रङको फुल बाहुला सर्ट पनि फेला परेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।