जाजरकोट। जाजरकोटमा शुक्रबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
नलगाड नगरपालिका–७ खगेनकोटस्थित जाजरकोट–डोल्पा सडक खण्डमा सरिया बोकेर दल्लीबाट कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परेका नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुम पश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।
गम्भीर घाइते १९ वर्षीय जयबहादुर परियारलाई सुरुमा दल्लीस्थित नगर अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी मिसन अस्पताल पठाइएको थियो। चौरजहारीबाट उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी निरीक्षक चन्दले बताए।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।