काठमाडौं। जेठ १५ गतेदेखि लगातार अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक शुक्रबार (आज) कोलाहलकै बीच सञ्चालनमा आएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सत्तापक्षसँग दुईबुँदे सहमति गरेपछि सदन चल्ने बाटो खुलेको हो। यद्यपि, अर्को प्रमुख विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नाराबाजीका बीच नै बैठक अगाडि बढाइएको थियो।
बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले घोषणा गरेलगत्तै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न पाँच मिनेटको समय दिए। माओवादीका सांसद बसे पनि रास्वपा र राप्रपाका सांसदले उभिएरै विरोध जनाइरहे।
सभामुखले दलीय आधारमा बोल्न दिने भन्दै उनीहरूलाई बस्न आग्रह गरे पनि रास्वपा र राप्रपाका सांसदहरूले मानेनन् र टेबल बजाइरहे। उनीहरूको विरोधका बीच पनि सभामुखले पाण्डेलाई बोल्न दिए। पाण्डे बोलिसकेपछि सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई तीन मिनेट समय दिए। लिङदेन बोलिरहँदा रास्वपाले उभिएरै विरोध जनाए पनि टेबल भने बजाएन। लिङदेनले निर्धारित समयभन्दा धेरै बोलेपछि उनको माइक काटिएको थियो।
त्यसपछि सभामुखले रास्वपाका मनिष झालाई बोल्न दिए। उनले आफूहरूको उच्चस्तरीय छानबिन समितिको माग यथावत् रहेको र अडान कायमै रहेको स्पष्ट पारे। झा बोलिसकेपछि सभामुखले संसदीय गतिविधि अघि बढाउन खोज्दा रास्वपा र राप्रपाले उभिएर विरोध जनाइरहे।
गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएपछि रास्वपाका सांसदहरूले नाराबाजी सुरु गर्दै वेल घेर्न अघि बढे। यद्यपि, गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे उठेका प्रश्नको जवाफ दिए। उनको सम्बोधनपछि सभामुख नियमित प्रक्रियामा अघि बढे र रास्वपाका सांसद संसद्को कार्यसूचीमा उभिएरै आंशिकरूपमा सहभागी भए।
बैठक सकिएपछि बाहिरिने क्रममा गृहमन्त्री लेखकविरुद्ध नाराबाजी गरिरहेका रास्वपाका केही सांसदहरू नै गृहमन्त्रीलाई नमस्कार गर्दै हात मिलाएर बाहिरिएको रोचक दृश्य पनि देखिएको थियो।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३