काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली चलाएर चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरिएको छ।
ब्यूरोका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइरालाका अनुसार, लागूऔषध कारोबारको सूचना पाएपछि इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो।
नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि जवाफी कारबाहीमा गोली चलाइएको थियो। गोली लागेर दुई जना घाइते भएका छन् भने अन्य दुई गरी कुल चार जनालाई नियन्त्रणमा लिइएको छ।
एसएसपी कोइरालाले नियन्त्रणमा रहेका व्यक्तिहरु भारतीय नागरिक भएको बताएका छन् तर उनीहरुको पूरा परिचय भने सार्वजनिक गरिएको छैन।
‘चार जना नियन्त्रणमा छन्। भारतीय नागरिक भन्ने बुझिएको छ। कार्यालयमा ल्याइनसकेकाले थप विवरण बताउन सक्ने अवस्था छैन,’ कोइरालाले भने।
घटनामा प्रहरी जवान रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन्। घाइते प्रहरीहरुको उपचार भइरहेको छ। पक्राउ परेका भारतीय नागरिकहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।