काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन अस्वीकार गरेपछि अहिले विपक्षी दलहरू आगामी रणनीति बनाउन बैठक बसिरहेका छन्।
शनिबार (जेठ २४) देउवा निवास बूढानीलकण्ठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा देउवाले अख्तियारले छानबिन गरिरहेकाले समिति आवश्यक नरहेको बताएका थिए।
प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकभन्दा पनि समग्र समस्या समाधानका लागि छानबिन समिति बनाउनुपर्ने विपक्षी दलको माग रहेको बताएका थिए। तर, देउवाले अख्तियारले छानबिन गरिरहेकाले समिति बनाउन आवश्यक नभएको बताएपछि उनीहरू देउवानिवासबाट फर्किएका थिए। देउवा निवासको भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
देउवाले समिति बनाउन अस्वीकार गरेपछि प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका हुन्। बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ।
भिजिट भिसा प्रकरणमा छानबिनका लागि समिति वा आयोग बनाउनुपर्ने माग विपक्षीको छ। यसअघि गृहमन्त्रीको राजीनामाको मागबाट विपक्षी दलहरू पछि हटिसकेका छन्। सहमति हुन नसक्दा जेठ १५ गतेयता प्रतिनिधिसभा बैठक चल्न सकेको छैन।