चितवन। राप्ती र नारायणी नदीको दोभानमा अवस्थित पर्यटकीय स्थल गोलाघाटमा रैथाने सांस्कृतिक गाउँ निर्माण गर्ने प्रयास थालिएको छ। भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारलाई सांस्कृतिक गाउँलगायतका संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पत्राचार गरेको छ।
भरतपुर महानगरपालिका–२८ मा पर्ने गोलाघाट, जहाँ नारायणी नदी र राप्ती खोला मिसिन्छन्, सूर्यास्तको शानदार दृश्यका लागि प्रख्यात छ। यहाँबाट क्षितिजसम्म निकुञ्जको जंगल, होचा पहाड र बग्दै गरेको नदीमात्रै देखिन्छ, जसले गोधूलि साँझलाई अझ मनमोहक बनाउँछ।
गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले यस क्षेत्रलाई ‘दोस्रो सौराहा’ को रुपमा विकास गर्नुपर्ने बताएका छन्, किनकि यो प्राकृतिक हिसाबले सुन्दर र पर्यटकीय गतिविधि अझै चलायमान बनाउनुपर्ने आवश्यकता छ।
सांस्कृतिक गाउँ र अन्य संरचनाको योजना
पर्यटकीय दृष्टिकोणले अथाह सम्भावना बोकेको गोलाघाटमा रैथाने सांस्कृतिक गाउँ बनाउने सन्दर्भमा महानगरपालिका र एमके कन्सल्ट्यान्ट एण्ड कन्स्ट्रक्सन प्रा.लि. बीच सम्झौता भइसकेको छ। सम्झौतापछि स्थानीय कुमाल, थारु र तामाङ जातिका अगुवा, सिभिल इन्जिनियर, समाजशास्त्री लगायतको छलफल गोलाघाटमा सम्पन्न भएको छ।
छलफलमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायतको उपस्थिति थियो। यस क्रममा कुमाल, थारु र तामाङ समुदायमा व्यक्तिको जन्मदेखि मृत्युसम्मको संस्कार, पहिरन, भाषा र रहनसहनको विषयमा विवरण लिने र दिने कामसमेत भएको थियो।
सांस्कृतिक गाउँका अतिरिक्त गोलाघाट आइल्यान्ड, गोलाघाट भ्यू हिल, गोलाघाट स्यान्डी बिच एक्टिभिटी, फ्लोरा एन्ड फाउना म्युजियम, पिकनिक स्पट र पोड वेका लागि पनि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) र बजेटको माग गरिएको छ।