काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले दुई लाख रुपैयाँसम्मका योजना पनि संघ सरकारअन्तर्गत राखिएको बताएका छन्। शनिबार (जेठ २४) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
सरकारले तीन करोड रुपैयाँभन्दा कम बजेटका आयोजना संघअन्तर्गत नराखिएको जिकिर गरिरहेको उनले उल्लेख गरे। तर, सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा दुई लाखसम्मका आयोजना रहेको पाएको उनले दाबी गरे।
सहरी विकास मन्त्रालयको विनियोजित बजेट एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ छ, जुन कुल बजेटको हो। मन्त्रालयको नयाँ बजेट चालु वर्ष २०८१/८२ को तुलनामा २७.७५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाख बजेट विनियोजन गरिएको थियो। बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेको पुनले बताए।
उनले सहरी विकास मन्त्रालय एउटैमा मात्र ३२ अर्ब रुपैयाँ चलखेल भएको देखिने उल्लेख गरे। उनले योजना आफूखुसी राखेको स्पष्ट देखिएको बताए।
पुनको भनाइको मुख्य अंश:
“यसपटक हिजो सहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो। गत वर्ष ९२ अर्ब थियो। यसपटक एक खर्ब १८ अर्ब पुगेको छ। २६ अर्ब त यसै पनि बढ्यो। तर, उसको सिलिङ झन्डै ७२ अर्ब मात्रै थियो। त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने।”
“हिजो मन्त्रालयको विनियोजन आएको छ। मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरू रहेछन्। अनि, किन यो तीन करोडको भनेर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीलाई सोध्दा– होइन, २५ लाखभन्दा मुनिको त हालेको छैन भन्नुभयो। यी दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नु भएन। १७ हजारबाट कटाएको छैन। ससर्तमा झन् अरूअरूतिर सारेको देखिन्छ। ससर्तको रकम गत वर्षको भन्दा बढेको छ। ससर्त त घटाउने हो खासमा। घटाउँदै गएर समानीकरणमा बढाइदिने हो। तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो। यसपटक अलि मनपर्दी गरेको छ। एउटै सहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ। मसिना सबैखाले आफूखुसी राखेको देखिन्छ।”