वीरगन्ज। मधेश प्रदेश सरकारले वीरगञ्जस्थित नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशालाका रुपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालासहित यी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने घोषणा गरिएको हो।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेल क्षेत्रलाई व्यवस्थित र गतिशील बनाउन यी रंगशालाहरूको आधुनिकीकरण र विकासलाई प्राथमिकता दिइने बताएकी छन्। साथै, सार्वजनिक तथा निजी क्षेत्रको साझेदारीमा यी रंगशालाहरू सञ्चालनमा ल्याइने योजना छ।
यसअघि संघीय सरकारले पनि आगामी आर्थिक वर्षका लागि नारायणी रंगशालाको जीर्णोद्धार र मर्मतसम्भारका लागि करोड रुपैयाँ विनियोजन गरिसकेको छ। मधेश प्रदेशको यो पहलले खेलकुद विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
