वीरगन्ज । वीरगन्ज महानगरपालिका भित्र अव्यवस्थित तारहरुलाई व्यावस्थापन गर्न शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा जेठ २० गते बसेको सरोकारवालाहरुको बैठकले १५ दिन भित्रमा वीरगन्ज महानगरपालिकाको अव्यवस्थित तारलाई व्यवस्थित बनाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार वीरगन्ज महानगरपालिकाको वडा नं.१६ स्थित रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मका विद्युत् पोलमा लत्रिएका अव्यवस्थित तारहरू हटाउने कार्य बिहीबारदेखि शुरु गरेको छ । बिहीबार एकैदिन करिब ८०० किलोग्राम तार संकलन गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ।
सहरी सुन्दरता अभिवृद्धि, आगलागी नियन्त्रण तथा विद्युत् सेवालाई भरपर्दो बनाउँदै सम्भावित दुर्घटनाबाट जनतालाई जोगाउने उद्देश्यले महानगरपालिकाले यो कार्य अगाडि बढाएको हो।
यसका लागि नेपाल दूरसञ्चार कम्पनी, नेपाल विद्युत् प्राधिकरण, वीरगन्ज महानगरपालिकाका नगर प्रहरी तथा माली, र नेपाल प्रहरीका कर्मचारीहरू गरी जम्मा १२ जनाको संयुक्त टोली खटिएको थियो।
सञ्चार र विद्युत् सुरक्षाका हिसाबले जोखिमपूर्ण अवस्थामा रहेका यी तारहरूको कटानपश्चात् संकलित ८०० केजी तार महानगरपालिकामा सुरक्षित राखिएको छ।
महानगरपालिकाले यस्ता अभियानहरूलाई निरन्तरता दिँदै सहरी पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।