जेठ २३ गते, जनकपुरधाम । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको “ट्राफिक जनचेतना मुलक सप्ताह कार्यक्रम २०८२” को आज एक भव्य समारोहका बीच उद्घाटन भएको छ। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीको अध्यक्षता र मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतिस कुमार सिंहको प्रमुख आतिथ्यमा सुरु भएको यो सप्ताहव्यापी कार्यक्रम सडक दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण सावित हुने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले काठमाडौँ उपत्यकापछि मधेश प्रदेशमा सवारी दुर्घटनाको सङ्ख्या अत्यधिक रहेको तथ्य औँल्याउनु भयो। उहाँले ट्राफिक अनुशासन तथा नियम सम्बन्धी शिक्षाको कमी नै दुर्घटनाको प्रमुख कारण रहेको बताउनु भयो। “यस किसिमको जनचेतनामूलक कार्यक्रमको औचित्य बढेको छ,” गृहमन्त्री लेखीले भन्नुभयो।
मन्त्री लेखीले युवा विद्यार्थीहरूलाई मनोरञ्जनात्मक क्रियाकलाप र कार्यक्रमहरूसँगै यस किसिमका सचेतनामूलक कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताउनु भयो। उहाँले ट्राफिक अनुशासन र नियम पालना सम्बन्धी शिक्षा जनस्तरसम्म पुर्याउन सहयोग गर्न सबैलाई अनुरोध समेत गर्नु भयो।
सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रममा नेपाल प्रहरी, जिल्ला ट्राफिक कार्यालयहरू, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।