काठमाडौं। सरकारले पछिल्लो पटक आगामी आर्थिक वर्षको बजेट र सोसँग सम्बन्धित विभिन्न ऐन एवं अन्य कानुन पारित गरेको छ। गत जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बजेटसँग सम्बन्धित कानुनहरू एवं विभिन्न मन्त्रालयका प्रस्तावपछि भएका निर्णय जानकारी दिए।
जेठ १५ गतेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू:
- आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान।
- आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान।
- सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिमको सूचित आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने।
- भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) बमोजिमको सूचना जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने।
- मूल्य अभिवृद्धि कर (सत्ताइसौँ संशोधन) नियमावली, २०८२, अन्तः शुल्क (सत्ताइसौँ संशोधन) नियमावली, २०८२, आयकर (सोह्रौँ संशोधन) नियमावली, २०८२, भन्सार (सोह्रौँ संशोधन) नियमावली, २०८२, भन्सार महसुल (पहिलो संशोधन) नियमावली २०८२ र मदिरा (चौथो संशोधन) नियमहरू २०८२ स्वीकृत गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने।
- नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक सिद्धि बिक्रम शाहलाई बढुवा गर्ने।
- सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
- हुलाक सेवासम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
- गोरखापत्र संस्थानसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
- राष्ट्रिय समाचार समिति (रासस) सम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू:
- आगामी असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति।
- थाइल्याण्डको राजधानी बैंककमा आगामी असार ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने ‘हेन्ड इन हेन्ड इन्भेस्टमेन्ट डाइलग फर एसिया एन्ड द प्यासिफिक’ विषयक कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति।
- नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने, दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने।
- आगामी असार २ गतेदेखि ९ गतेसम्म जर्मनीमा आयोजना हुने युनाइटेड नेशन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स, एसबी ६२ मा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने।
- यही जेठ २८ गतेदेखि ३० गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने बेइजिङ सिबीडी मल्टिनेशनल इन्टरप्राइजेज कन्फ्रेन्स एन्ड एसियन मेयर्स फोरममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने।

