वीरगन्ज । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा मंगलबार राति सम्पन्न फाइनल खेलमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले हराउँदै पहिलो पटक आईपीएल उपाधि जितेपछि बेंगलुरुको एम. चिन्नास्वामी रंगशालाबाहिर भव्य उत्सव मनाइँदै गर्दा दुःखद घटना घटेको छ।
आरसीबीको विजयोत्सवको क्रममा रंगशालाबाहिर भागदौड हुँदा सात जनाको मृत्यु भएको खबर आएको छ, जसमा एक बालक पनि छन्। घटनामा २५ भन्दा बढी मानिस घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
१८ वर्ष लामो प्रतीक्षापछि आएको जितले समर्थकहरूमा अपार खुशीको माहोल सिर्जना गर्यो। फ्रेन्चाइज आइकन विराट कोहलीका लागि पनि यो उपाधि विशेष महत्वको रह्यो।
तर, यो खुसीको माहोलमा दुःखद घटना हुन पुग्यो। सामाजिक सञ्जालमा फैलिएका भिडियोहरू अनुसार, रंगशालाबाहिर अत्यधिक भिड भएका कारण स्थिति नियन्त्रण बाहिर जान थालेपछि कर्नाटक प्रहरीले भिड व्यवस्थापन गर्न हल्का बल प्रयोग गरेको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार जुलूसमा सहभागी हुन ठूलो संख्यामा भीड जम्मा भएको थियो र स्टेडियम बाहिर प्रवेश गर्न खोज्ने समर्थकहरूको भीडले स्थिति नियन्त्रण बाहिर गएको थियो। प्रहरी स्रोतका अनुसार अचानक भएको भागदौडमा केही व्यक्ति लडेर च्यापिए, जसका कारण उनीहरूको ज्यान गएको पुष्टि भएको छ।
स्थानीय प्रहरीले घटनास्थलमा तत्काल उद्धार कार्य सुरु गरी घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएको छ। प्रहरीले भीड नियन्त्रण गर्न अपर्याप्त व्यवस्था भएको स्वीकार गरेको छ र घटनाको छानबिन सुरू गरिएको छ।
विजयी जुलूसको आयोजना गरेको फ्रान्चाइजीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेको छ। आरसीबीले एक विज्ञप्तिमा भनेको छ – ‘हाम्रो टिमको जीतको उत्सवमा यस्तो घटना हुनु अत्यन्त दुःखद छ। हामी पीडित परिवारसँग छौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं।’
यो दुखद घटनाले आरसीबीको ऐतिहासिक जितको खुसीमा कालो छायाँ परेको छ।