काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका-६ भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सोही दुर्घटनामा परेर अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
बा ३ ख ४४३५ नम्बरको बस पनौतीबाट यात्रु लिएर जाँदै गर्दा भुग्देउ पुग्दा बसमा पाँच जना मात्र यात्रु थिए। तीमध्ये ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिए।
घाइतेमध्ये बसका चालकको खुट्टामा चोट लागेको छ। कृष्णकुमारीसँगै गएकी एक वर्षीया नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ। त्यस्तै, कृष्णकुमारीकी बुहारी संगिता आचार्य तिमल्सिनाको गोडामा चोट लागेको छ।
घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। बिरामी लिन एम्बुलेन्स भुग्देउ आइरहेको तामाङले बताए।