वीरगन्ज । सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशका आठवटै जिल्लामा ‘विपद् स्वयंसेवक र सूचक उत्पादन’अभियान शुरु गरेको छ । आगामी मनसुन तथा अन्य प्राकृतिक प्रकोपहरूको सामना गर्न स्थानीय स्तरमै जनशक्ति निर्माण गर्ने उद्देश्यले ‘आपत्कालीन स्वयंसेवक तथा सूचक उत्पादन’ अभियान सुरु गरेको हो।
मधेश प्रदेश मनसुनजन्य तथा आगलागीजस्ता प्राकृतिक एवं मानवजन्य प्रकोपका हिसाबले अति जोखिमयुक्त मानिन्छ। त्यसैलाई मध्यनजर गर्दै विपद्का समयमा कमभन्दा कम धनजनको क्षति होस् भन्ने उद्देश्यले समुदायलाई नै विपद्सँग लड्न सक्ने जनशक्ति
निर्माण गर्न मधेश प्रदेशका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले विशेष सर्कुलर जारी गरी हरेक जिल्लामा यसै वर्ष कम्तीमा २५ जना विपद् स्वयंसेवकको २१ दिने तालिम सञ्चालन गर्न निर्देशन दिएका छन्।
यस अभियान अन्तर्गत हालसम्म रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, सर्लाहीमा २५ जना, धनुषामा २५ जना र सप्तरीमा २५ जना गरी जम्मा १३९ जनालाई तालिम सुरु गरिसकिएको छ।
बाँकी ३ जिल्ला बारा, पर्सा र सिराहामा समेत कम्तीमा २५–२५ जनाको स्थानीय जनशक्ति निर्माण गर्न छिट्टै तालिम सुरुवात गरिने सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालका अनुसार, विपद्को फर्स्ट रेस्पोन्डर अर्थात पहिलो जवाफदेही भनेको स्थानीय समुदाय नै हो।
उनले भने, ‘जब स्थानीय समुदायलाई जवाफदेही हुन सक्ने बनाउँछौं, अनि मात्र हाम्रो न्यूनतम क्षतिको आकांक्षा पूरा हुन्छ। हामी सकेसम्म मानवीय क्षति हुन नदिने अभियानमा छौं। समुदाय र सुरक्षा फौजको सहकार्यमा त्यो सम्भव छ।’
त्यसैगरी, विपद्बबारे छिटो जानकारी प्राप्त गर्ने मनसायले सबै जिल्लाका सबै पालिकामा रहेका वडाहरूमा कम्तीमा २५ जना विपद् सूचकहरू तयार गर्ने काम पनि भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मधेस प्रदेशले जनाएको छ।
यी सूचकहरूले हुन सक्ने विपद्का घटनाको सूचना तुरुन्त दिने जनशक्तिका रूपमा काम गर्नेछन्। यसका लागि हालसम्म सबै जिल्लाका पालिकाहरूसँग समन्वय गरी विपद् सूचकहरूको विवरण फोन नम्बरसहित संकलन गरिसकिएको सशस्त्र प्रहरी बलले जनाएको छ।