काठमाडौं । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी चक्काजाम घोषणा गरेका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच गृहमन्त्रालयमा छलफल भइरहेको छ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा यातायात व्यवसायीहरूले आज (सोमबार, जेठ २०) एक दिन देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन्। गाडी नचल्दा यात्रुहरू मर्कामा परेका छन्।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।
उनीहरूको आन्दोलनका कारण काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्। काठमाडौं उपत्यकाका सडकहरूमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरू फाट्टफुट्ट चलेको देखिएको छ, तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरू चलेका छैनन्। सधैं व्यस्त हुने काठमाडौंका सडकहरू आज बिहानैदेखि सुनसान देखिन्छन्।
बस स्टपहरूमा यात्रुहरू गाडीको प्रतीक्षा गरिरहेको देखिन्छ। कोही पठाओमा चढेर र कोही पैदलै हिँडेर गन्तव्यमा गइरहेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कम मात्र चलेको जनाएको छ।