बारा । एकीकृत समाजवादी पार्टी फेटा गाउँपालिकाले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त, पारदर्शी र सेवामुखी न्यायिक तथा प्रशासनिक व्यवस्थापनलाई केन्द्रमा राख्न जोडदार माग गरेको छ ।
पार्टीले शुरु गरेको दोश्रो चरणको आन्दोलन अन्तर्गत ’सुशासन र रोजगारी, समाजवादको तयारी’ नारासहित फेटा गाउँपालिकालाई १० बुँदे माग सहितको ज्ञापनपत्र बुझाएर आफ्नो राष्ट्रव्यापी अभियान शुरु गरेको हो ।
पार्टीको फेटा गाउँपालिका कमिटीका अध्यक्ष इब्राहिम अहमद ठकुराईको नेतृत्वमा गएको टोलीले सोमबार पालिका अध्यक्ष रुस्तम अंसारीलाई १० बुँदे मागपत्र बुझाउँदै पछिल्लो १०–१२ वर्षमा देशले भोगेका गरिबी, पछौटेपन, विभेद र अविकासको मुख्य कारण भ्रष्टाचारमुक्त र पारदर्शी व्यवस्थापनलाई राजनीतिको केन्द्रमा नराख्नु रहेको औंल्याएको छ ।
“हामी चुक्यौं। अब अपमानजनक इतिहास बदल्न, राजनीतिक नालायकीबाट शिक्षा लिन र बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन ढिलो भइसकेको छ ।“
पालिकामा बुझाएको ज्ञापनपत्रमा उललेख गरिएको छ । एकीकृत समाजवादीले चैत १ गतेदेखि सुरु गरेको यो अभियान सत्ताको खेल नभई १० वर्षभित्र सबै नेपालीलाई रोजगारी दिन सक्ने सुशासनयुक्त मुलुक बनाउने राष्ट्रिय एजेण्डा भएको बताएको छ।
उनीहरूका मागहरूमा बीउ, सिँचाइ, मल र बिजुलीमा पर्याप्त अनुदान र सस्तो कृषि ऋण को व्यवस्था, सबै आर्थिक तथा वित्तीय नीतिहरूलाई स्थानीय उत्पादन तथा कृषिमा आधारित साना उद्योगमैत्री बनाउने, सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण गरी न्यूनतम कर र सहज प्रशासनिक प्रक्रिया मार्फत स्थानीय उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने, शिक्षा, स्वास्थ्य र पर्यटन जस्ता क्षेत्रमा सुधार तथा विकास गर्ने कुराहरू समेटिएका छन्।
यसका साथै, चैरामाई लगायत पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र सौन्दर्यीकरण गर्ने र सडक यातायात र अन्य पूर्वाधार विकास गरी पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने जस्ता मागहरू पनि अघि सारिएका छन्।
फेटा गाउँपालिका कमिटीले पालिका अध्यक्षलाई यस ऐतिहासिक अवसरको सदुपयोग गरी आफ्नो पार्टीले राखेका मागहरू पूरा गर्न माग गरेको छ ।