मकवानपुर । थाहा नगरपालिका–३ को त्रिभुवन राजपथमा सोमबार साँझको ‘इभिनिङ वाक’ तीन परिवारका लागि कहिल्यै नफर्किने बज्रपात बनेर आयो। ब्रेक फेल भई अनियन्त्रित गुडिरहेको ना ३ ख ५९९० नम्बरको यात्रुवाहक बसले सडकछेउमा हिँडिरहेका ६ जना पैदल यात्रीलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै र उपचारका क्रममा मृत्यु भएको छ। यो हृदयविदारक घटनाले थाहा–३ लाई स्तब्ध बनाएको छ भने मृतकका परिवारमा गहिरो शोक छाएको छ।
मृत्यु हुनेमा थाहा–९ का कृष्ण बलामी, झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर र सोही माविका शिक्षक रघुनन्दन यादव रहेका छन्। तीनै जनाको अकस्मात् निधनले स्थानीय समुदायलाई मर्माहत बनाएको छ।
घटनाको विवरण अनुसार, बसले सुरुमा कृष्ण बलामीलाई ठक्कर दिई च्यापेको थियो। उनलाई अर्को सवारी साधनको सहायताले उद्धार गरी पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। त्यसैगरी, शिक्षकद्वय लोकेन्द्रकुमार ठाकुर र रघुनन्दन यादवलाई पनि ठक्करलगत्तै स्वास्थ्य केन्द्र पुर्याइएको थियो। तर, नियतिको खेल, स्वास्थ्य केन्द्र पुर्याएलगत्तै डाक्टरले ठाकुर र बलामीलाई मृत घोषणा गरे। विज्ञान विषयका शिक्षक रघुनन्दन यादवलाई थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल शिक्षण अस्पतालमा राखिएको छ।
मृतक कृष्ण बलामी एक परिचित लेखापढी व्यवसायी थिए। उनको निधनले व्यावसायिक क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको छ। त्यस्तै, झम्केश्वरी माविका नेपाली विषयका शिक्षक लोकेन्द्रकुमार ठाकुर र विज्ञान विषयका शिक्षक रघुनन्दन यादवको निधनले विद्यालय परिवार र विद्यार्थीहरूमा गहिरो पीडा र शून्यपन महसुस भएको छ। उनीहरू दुवै जना विद्यार्थीहरूमाझ लोकप्रिय र समर्पित शिक्षकका रूपमा चिनिन्थे।
घटनामा मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार शाह पनि गम्भीर घाइते भएका छन् र उनको काठमाडौंमा उपचार भइरहेको छ। झम्केश्वरी माविकै अर्का शिक्षक राम गुलाम चौधरी र छेवाङ लामा भने सामान्य घाइते भएका छन्। लामाको पाखुरा सुन्निएको छ। घटनाको प्रत्यक्षदर्शी रहेका घाइते चौधरीले भावुक हुँदै भने, ‘हामी दुई दुई जना भएर इभिनिङ वाकमा थियौँ, बसले एक्कासी सोहोर्यो।’
यस हृदयविदारक दुर्घटनापछि स्थानीय बासिन्दामा आक्रोश र चिन्ता बढेको छ। अनियन्त्रित सवारी साधनका कारण बारम्बार हुने यस्ता घटनाले सडक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यो दुःखद घटनाले थाहा–३ लाई शोकमा डुबाएको छ। तीन अमूल्य जीवन गुमाउनु परेको पीडाले त्यहाँको हरेक मनलाई छुन पुगेको छ। सडकमा हुने यस्ता घटनाले अब कसैले पनि ढुक्कसँग ‘इभिनिङ वाक’ गर्न सक्ने अवस्था छैन भन्ने स्थानीयमा पर्न गएको छ ।