१३ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नं. ३ स्थित पाटु र राई मण्डल क्षेत्रमा १० हजार वर्ष पुराना मानव निर्मित ढुङ्गे हतियारहरू फेला परेका छन्। यसै सन्दर्भमा पुरातत्त्व विभागको विज्ञ टोलीले शनिबारदेखि उक्त क्षेत्रमा व्यापक पुरातात्त्विक अध्ययन सुरु गरेको छ।
बर्दिबास नगरपालिकाका संस्कृति तथा पर्यटन प्रवर्धन समितिका सदस्य सचिव दिपेश काफ्लेका अनुसार, प्राचीन मानव इतिहासको महत्त्वपूर्ण तथ्यहरू पत्ता लगाउने उद्देश्यले नगरपालिकाले पुरातत्वविद् भास्कर ज्ञवाली र भारतको आसामबाट आएका प्रा. डा. मञ्जितलाई अनुसन्धान टोलीमा संलग्न गराएको छ।
जर्मनीका अनुसन्धानकर्ता गुडन कार्विन्सले सन् १९८० को दशकमा तराईका विभिन्न भूभागमा मानव सभ्यताको अध्ययन गरी सन् २००७ मा ‘प्री हिस्टोरिक कल्चर्स इन नेपाल’ नामक किताब प्रकाशन गरेर महोत्तरीको पाटु राई मण्डल क्षेत्रलाई मध्यपाषाण युगमा हतियार निर्माण हुने स्थल भनेर चिनाएका थिए। कार्विन्सले उक्त किताबको भाग १, पृष्ठ २३९ मा अहिलेको राई मण्डल अर्थात् पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेका छन्।
रातोमाटोले पुरिएको अवस्थामा हजारौँ मध्यपाषाण युगका हतियार भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनको किताबमा उल्लेख छ। मध्यपाषाण १० देखि १२ हजार वर्षअघिको अवधि र ६ देखि १० हजार वर्षअघिको नवपाषाणको अवधिलाई भनिन्छ। गुडन कार्विन्सले गरेको अध्ययन अनुसार यो ठाउँ १० हजार वर्षअघिको मध्यपाषाण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको हो।
कर्विन्सले राई मण्डल आसपास र पाटुमा नै आएर किन अध्ययन गर्नुभयो होला भन्ने विषय अझै रहस्यमय छ, तर उनको अध्ययनपछि सोही ठाउँमा पत्ता लगाइएको मध्यपाषाण युगको हतियार चासोको विषय बनेको छ। कर्विन्सले उक्त पुस्तकमा रातु नदीसँगै जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार वर्ष पहिले अर्थात् मध्यपाषाण युगमा मान्छेको बाक्लो चहलपहल रहेको उल्लेख गरेका छन्।