काठमाडौँ । भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक १८ वर्षीय युवकको कलेजो र मिर्गौलाबाट दुई जना बिरामीलाई नयाँ जीवन दिएको छ। केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठका अनुसार, नेपालमा एकै व्यक्तिको दुई महत्त्वपूर्ण अङ्ग दुई जनामा प्रत्यारोपण गरिएको यो पहिलो पटक हो।
दुर्घटनामा सख्त घाइते भई जेठ १ गते काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा मृत्यु भएका ती युवकको परिवारले कलेजो र मिर्गौला दान गर्ने घोषणा गरेपछि तत्काल प्रत्यारोपण गरिएको थियो। डा. श्रेष्ठले ५३ वर्षीय पुरुषमा कलेजो र एउटा मिर्गौला तथा ४० वर्षीया महिलामा एउटा मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिए। दुवै बिरामीले अहिले स्वास्थ्य लाभ गरिरहेका छन्।
डा. श्रेष्ठका अनुसार, मस्तिष्क मृत्युपछि १२ घण्टाभित्र अङ्ग निकालेर सुरक्षित गर्न सके अन्य व्यक्तिमा प्रत्यारोपण सम्भव हुन्छ। उनले कलेजोका लागि ६ घण्टा र मिर्गौलाका लागि ९ घण्टाभित्र अङ्ग झिक्नुपर्ने बताए। अङ्गदाता परिवारको सहयोग र प्रहरीको द्रुत कानुनी प्रक्रियाका कारण यो प्रत्यारोपण सफल भएको डा. श्रेष्ठले बताए।
केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गरिएको यो १२ औँ पटक हो भने कलेजो प्रत्यारोपण गरिएको यो चौथो हो। हालसम्म केन्द्रमा मिर्गौला र कलेजो प्रत्यारोपण भइसकेका छन्। डा. श्रेष्ठका अनुसार, एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट आठ जनासम्मले पुनर्जीवन पाउन सक्छन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग दान गर्ने परिवारलाई सरकारले लाख रुपैयाँ र अङ्गदाता अस्पताललाई हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। यो घोषणाले अङ्गदानका लागि परिवारलाई प्रोत्साहन मिलेको डा. श्रेष्ठको भनाइ छ। यद्यपि, मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग दानका लागि परिवारका सबै सदस्यको अनुमति अनिवार्य हुन्छ।