काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज (शनिबार) उत्तरी छिमेकी देश चीन प्रस्थान गर्दैछिन्। उनी एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै चीनको राजधानी बेइजिङ जान लागेकी हुन्। उनी भोलि (आइतबार) बिहान ११ः५ बजे बेइजिङ पुग्ने कार्यक्रम छ।
पूर्वराष्ट्रपति भण्डारीले चीनमा दुईवटा महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्ने तय भएको छ।
- सोमबार: चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधिबीच हुने संवाद कार्यक्रममा।
- शुक्रबार: नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रममा।
सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका उच्च पदस्थ पदाधिकारीका बीचमा उनको भेटघाट हुनेछ। उनको टोलीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनसहित १४ जना रहनेछन्।