वीरगञ्ज । ट्राफिक नियमको पालना र सचेतनाका लागि पर्सा ट्राफिक प्रहरीले वीरगञ्जको घण्टाघरमा श्रव्यदृश्य प्रदर्शन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले यो अभियान चलाएको हो ।
प्रदर्शनीमा ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा वा लापरवाहीका कारण भएका दुर्घटनाका भयावह दृश्यहरू देखाइएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले यो नियमित सचेतनामूलक कार्यक्रमको एक अंश भएको जानकारी दिए । उनले धेरै दुर्घटनाहरू ट्राफिक नियमको जानकारीको अभाव वा लापरवाहीपूर्ण सवारीका कारण हुने गरेको भन्दै सर्वसाधारणलाई जानकारी गराउनु आवश्यक रहेको बताए ।
प्रहरी निरीक्षक भट्टका अनुसार सचेतना अभियानले दुर्घटना न्यूनीकरणका साथै ट्राफिक व्यवस्थापनमा समेत सहजता ल्याउनेछ । गत आर्थिक वर्ष २०८०/०८१ मा पर्सामा सवारी दुर्घटनाबाट ५४ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षमा हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ । सवारी दुर्घटना र मृत्युदर घटाउनका लागि ट्राफिक सचेतना अपरिहार्य रहेको उनको भनाइ छ ।
समृद्ध नेपाल फाउन्डेसन र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्की, समृद्ध नेपाल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत शरण गुप्ता लगायत सर्वसाधारण र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।