तनहुँ । रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बस तनहुँको डुम्रेमा आज बिहान टिपरसँग ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
घाइते हुनेहरूमा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका- ७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिका-का ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका-४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक तनहुँ भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, घाइते हरिसचन्द्र खत्रीको खुट्टा भाँचिएको र उनको अवस्था गम्भीर छ। उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ। अन्य ६ जनाको अवस्था सामान्य छ र उनीहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।
प्रदेश १-०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय तनहुँले यम्पाबाट डुम्रे आउँदै गरेको टिपर र रुकुमबाट काठमाडौं जाँदै गरेको बस ठोक्किएको पुष्टि गरेको छ। प्रहरीका अनुसार, उक्त टिपर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको हो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।