काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको हो।
सरकारले गत फागुन १२ गते ओझालाई बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तर, उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट दायर गरेकी थिइन्।
सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजश्व प्रशासन र अर्थतन्त्र विश्लेषणमा दखल राख्ने ओझा प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष हुन्। उनी ३३ वर्षका छन्।