काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दोहा विमानस्थलमा उत्रिएसँगै अमेरिका र कतारबीचको सम्बन्धमा उल्लेखनीय परिवर्तनको नयाँ अध्याय सुरु भएको छ। कतार ट्रम्पको मध्यपूर्व देश भ्रमणको दोस्रो गन्तव्य हो।
उनको यो यात्रामा कतारलाई २१० वटासम्म जेट विमान बेच्ने र भविष्यमा ३८ अर्ब डलरको रक्षा लगानी गर्ने सम्झौता भएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता माइकल मिशेलले बीबीसी अरबीलाई भने, “अमेरिका र कतारबीचको सम्बन्ध रणनीतिक छ र आज पनि त्यस्तै छ। यसले खाडी क्षेत्रमा अमेरिकी नीतिको एक स्तम्भको प्रतिनिधित्व गर्छ।”
तर, सन् २०२५ मा भएको यो भव्य स्वागत समारोहको विपरीत २०१७ को खाडी संकटकालमा ट्रम्पले कडा व्यवहार देखाएका थिए। यो परिवर्तन दुई देशबीचको सम्बन्ध कसरी तनावबाट सहमति, प्रतिस्पर्धाबाट सहयोगतर्फ अग्रसर भयो भन्ने प्रतीक हो।
ट्रम्पको पहिलो कार्यकाल र खाडी संकट
सन् २०१७ जुनमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारको बहिष्कार घोषणा गर्दा खाडी देशमा गहिरो राजनीतिक संकट उत्पन्न भएको थियो। यो संकट कतार र अन्य खाडी मुलुकबीच लामो समयदेखि चलेको राजनीतिक र वैचारिक मतभेदको परिणाम थियो, जसका प्रमुख कारणहरूमा ‘अरब स्प्रिङ’ को विद्रोहलाई कतारले गरेको समर्थन, मुस्लिम ब्रदरहुडसँगको गठजोड, इरानसँग सम्बन्ध विस्तार, विपक्षी नेताहरूलाई आश्रय र अलजजिराजस्ता मिडिया संस्थाको प्रयोग थिए।
त्यति बेला कतारले उग्रवादलाई समर्थन गरेको सबै आरोप खारेज गर्दै नाकाबन्दीलाई आफ्नो सम्प्रभुताको उल्लंघन भनेको थियो। कतारले इरानसँग सम्बन्ध कम गर्ने, अलजजिरा बन्द गर्ने, टर्कीको सैन्य अड्डा बन्द गर्ने, मुस्लिम ब्रदरहुडलाई समर्थन रोक्नेलगायतका मागहरू मान्न अस्वीकार गर्यो।
तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले कतार बहिष्कारको स्पष्ट समर्थन गर्दै संघर्षमा उत्रनु आश्चर्यजनक थियो, जुन कुनै अमेरिकी राष्ट्रपतिको परम्परागत अडानभन्दा विपरीत थियो। तर, यो आक्रामक बयानबाजीलाई अमेरिकी प्रशासनभित्रैबाटै प्रतिरोध भयो। केही दिनभित्रै विदेश मन्त्रालय र रक्षा मन्त्रालयले खाडी एकताको महत्त्व र उग्रवादविरुद्ध लडाइँमा कतारको भूमिकामा जोड दिए।
कतारमा अमेरिकी सैन्य अड्डा र सम्बन्ध सुधार
अमेरिकी रक्षा मन्त्रालयले कतारविरुद्ध लगाइएको नाकाबन्दीले अल उदीद एयर बेसमा सैन्य अभियान जटिल भइरहेको चेतावनी दिएको थियो। यो मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो वायुसेना अड्डा हो, जहाँ १० हजारभन्दा बढी सैनिक तैनाथ थिए।
प्रशासनभित्रै यस्तो विभाजित राय देखेपछि तत्कालीन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले तुरुन्तै दबाबको सट्टा वार्ताका माध्यमबाट नाकाबन्दी हटाउन आह्वान गरे। उनको यो भाषण २०१८ जनवरीमा अमेरिका–कतार वार्ताका रूपमा परिणत हुने ठूलो प्रक्रियाको सुरुआत थियो। दुवै देशका विदेश र रक्षामन्त्रीहरूले साझा विज्ञप्ति जारी गरे, जसमा कतारको सुरक्षालाई अमेरिकी समर्थन र कुनै पनि बाह्य खतराविरुद्ध एकजुट हुने प्रतिबद्धता उल्लेख थियो।
समय बित्दै जाँदा कतारले अमेरिकामा गरेको केन्द्रित प्रयासको फल पाउन थाल्यो। उसले पेन्टागनसँग सम्बन्ध मजबुत गरी १२ अर्ब डलरमा एफ–१५ लडाकु जेट खरिद गर्ने सम्झौतामा हस्ताक्षर गर्यो र अमेरिकी संस्थासँग प्रत्यक्ष संवाद च्यानल पनि स्थापना गर्यो। यसको नतिजास्वरूप २०१८ मा दुवै देशबीच रणनीतिक वार्ता प्रणाली सुरु भयो, जसमा दुवै देशका विदेश र रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू सामेल भए। पछि जारी गरिएको विज्ञप्तिमा अमेरिका कतारलाई कुनै पनि बाह्य खतराबाट जोगाउन सहयोग गर्न तयार रहेको घोषणा गरियो।
कतारले अल उदीद एयर बेस विस्तार र अमेरिकी सैनिक परिवारका निम्ति सुविधा उन्नत गर्ने योजना घोषणा गर्यो। वास्तवमा कतारले यो सैन्य अड्डाको पुनर्निर्माणमा अर्बौं डलर लगानी गरेको छ, जसले अमेरिकासँगको दीर्घकालीन सुरक्षा साझेदारीप्रति उसको प्रतिबद्धता देखाउँछ।
प्रमुख गैरनेटो सहयोगी र कूटनीतिक भूमिका
कूटनीतिक रूपमा कतारले जटिल मुद्दा समाधान गर्ने विश्वसनीय मध्यस्थका रूपमा आफ्नो पहिचान बनाएको छ। उसले अमेरिका र तालिबानबीच शान्ति वार्ता आयोजना गर्यो, जसको परिणामस्वरूप २०२० फेब्रुअरीमा ऐतिहासिक सम्झौतामा हस्ताक्षर भयो।
सन् २०२१ सम्म जब ट्रम्पको पहिलो कार्यकाल समाप्तितर्फ थियो, कतारले अमेरिकी समर्थनबाट आफ्नो पूर्वक्षेत्रीय सन्तुलन फिर्ता पाइसकेको थियो। उक्त वर्ष नै कतारविरुद्धको बहिष्कार औपचारिक रूपमा समाप्त भयो।
माइकल मिशेलले बीबीसी अरबीलाई भने, “हामीले संवेदनशील कूटनीतिक मुद्दाहरूबाहेक पनि रक्षा, ऊर्जा र इनोभेसनजस्ता क्षेत्रमा सहयोगको विस्तार देखेका छौँ। कतारलाई प्रमुख गैरनेटो सहयोगी घोषणा गरेपछि अमेरिकी रणनीतिमा यसको स्थिति स्पष्ट र स्थिर बनेको छ। हालको प्रशासनले कतारलाई द्विपक्षीय मात्र होइन, क्षेत्रीय सन्तुलन र राजनीतिक समाधानका निम्ति पनि विश्वसनीय दीर्घकालीन साझेदारका रूपमा हेरेको छ।”
ट्रम्पको दोस्रो कार्यकाल र सम्बन्धको भविष्य
डोनाल्ड ट्रम्पले २०२५ मा पुनः राष्ट्रपतिको पद सम्हालेपछि कतारसँग अमेरिकाको सम्बन्धले नयाँ अध्याय सुरु गरेको छ। अमेरिकी मिडिया रिपोर्टअनुसार, ट्रम्प प्रशासनले एयरफोर्स वानको अस्थायी प्रतिस्थापनका रूपमा कतारी राजपरिवारबाट करिब ४० करोड डलर मूल्यको लक्जरी बोइङ ७४७–८ विमान प्राप्त गर्ने योजना बनाएको छ, जुन ट्रम्पको कार्यकाल समाप्तिपछि राष्ट्रपति पुस्तकालयलाई दिइने बताइएको छ। यद्यपि, यसले अमेरिकाभित्र संवैधानिक र नैतिक प्रश्न उठाएको भन्दै तीव्र आलोचना भएको छ।
क्षेत्रीय भू–राजनीतिमा तीव्र परिवर्तन भइरहेको बेलामा अमेरिका र कतारबीचको सम्बन्ध पहिलेभन्दा बलियो देखिन्छ। मिशेलले कतारसँगको रक्षा सहयोगलाई सबैभन्दा महत्त्वपूर्ण बताएका छन्। उनले अल उदीद एयर बेस मध्यपूर्वमा अमेरिकी अभियानहरूको मुख्य आधार बनेको र प्रशिक्षण कार्यक्रमको समर्थन, सैन्य प्रविधि हस्तान्तरण, ड्रोन र साइबर आक्रमणजस्ता अन्तर्राष्ट्रिय चुनौतीसँग सामना गर्न संयुक्त तयारी र रक्षा पूर्वाधार आधुनिकीकरण हालका प्राथमिकतामा समावेश रहेको जानकारी दिए। उनले कतारलाई विभिन्न पक्षसँग संवाद गर्ने असाधारण क्षमता भएको विश्वसनीय मध्यस्थ कदमका रूपमा चित्रण गर्दै चीन र रुसजस्ता विश्वका शक्तिसँग प्रतिस्पर्धाको सन्दर्भमा कतार अमेरिकाको दृढ रणनीतिक साझेदार हुनुपर्नेमा पनि जोड दिए।
बीबीसी हिन्दीबाट ।