काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण बिजुली आपूर्तिमा अवरोध देखिएको बताएका छन्। शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले हावाहुरीका कारण प्रसारणलाइनमा समस्या आउँदा बिजुली आपूर्तिमा अवरोध देखिएको जानकारी दिए।
उनले बिहीबार बेलुकी ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किटलाइनमा हावाहुरीका कारण समस्या आएकाले काठमाडौंसहित केही स्थानमा बिजुली आपूर्ति हुन नसकेको स्पष्ट पारे। भारतको लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिएका कारण बिजुली जाने समस्या आएको र यसले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनको भनाइ छ।
प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ हुने सम्भावनालाई पूर्णरूपमा अस्वीकार गरेको छ। कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याहरूलाई दीर्घकालीनरूपमा समाधान गरिने भए पनि यसका लागि केही समय लाग्ने बताए।
हाल करिब १४ सय मेगावाट विद्युत् उत्पादन भइरहेको र पिक आवरमा दुई हजार मेगावाट माग रहेको जानकारी दिँदै उनले प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमताले लोड धान्न नसक्ने अवस्था रहेकाले पनि समय-समयमा बिजुली जाने गरेको स्वीकार गरे।