वीरगन्ज । वीरगञ्जका प्रतिष्ठित उद्योगपति तथा लेखक गणेश प्रसाद लाठको नवीनतम कृति ‘सीमान्त सम्झना’ पाठकमाझ आएको छ। वीरगञ्जलाई आफ्नो कर्मथलो बनाएर उद्योग व्यवसायमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका लाठले साहित्यको क्षेत्रमा पनि आफ्नो पहिचान स्थापित गर्दै गएका छन्।
लाठको साहित्यिक यात्रा ‘अनुराधा भवन’बाट सुरु भएको थियो। त्यसपछि ‘छमिया’, ‘अघटित’ र ‘क्षमादान’ जस्ता कृतिहरू प्रकाशित भइसकेका छन्। ‘सीमान्त सम्झना’ उनको पाँचौं कृति हो, जसको गृह विमोचन शुक्रबार वीरगञ्जमा हुँदैछ। यसअघि काठमाडौंमा लोकार्पण गरिएको यो पुस्तक नेपालय प्रकाशनले बजारमा ल्याएको हो। वीरगञ्जमा नारायणी एफ.एम., रेसखबर अनलाइन र पाठशाला नेपालले संयुक्त रूपमा यसको गृह विमोचन आयोजना गर्दैछन्।
‘सीमान्त सम्झना’ एक रोचक र पठनीय कृति हो। यसमा २३ वटा शीर्षकमा मानवीय जीवनसँग सम्बन्धित विभिन्न अनुभवहरू समेटिएका छन्। लेखक लाठले सामाजिक, आर्थिक, भौगोलिक र भावनात्मक सीमाहरूलाई नाघेर आफ्ना सम्झनाहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। उनको सरल लेखन शैली र विषयवस्तुको प्रस्तुतीकरणले पुस्तकलाई थप आकर्षक बनाएको छ। विभिन्न दार्शनिक भनाइहरूबाट सुरु गरिएको यो पुस्तक सबै वर्गका पाठकहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ।
यो कृति केवल अतीतका सम्झनाहरूको सङ्गालो मात्र नभएर विभिन्न क्षेत्रको विकासक्रम र घटनाक्रमलाई आर्थिक तथा सामाजिक सम्बन्धसँग जोड्ने प्रयास पनि हो। लेखकले विगतको इतिहास, प्रविधिको विकास र वर्तमान अवस्थाको तुलना गर्दै स्थानीय परम्परा, बोलीचाली, रहनसहन र चालचलनलाई सरल र मौलिक भाषामा प्रस्तुत गरेका छन्। ‘सीमान्त सम्झना’ वीरगञ्जको विगतको जीवन्त चित्रण मात्र नभई यहाँको इतिहास र वर्तमान पुस्ताका लागि एक महत्वपूर्ण दस्तावेज पनि बन्न सक्छ।
पुस्तकमा नेपाल, भारत र चीनको त्रिपक्षीय सामाजिक तथा आर्थिक सम्बन्धसँग सम्बन्धित विषयवस्तुहरूलाई पनि समेटिएको छ। एकजना व्यवसायीले आफ्नो लामो अनुभव र सम्झनाहरूलाई यसरी पुस्तकमा उतार्नु आफैंमा महत्वपूर्ण कार्य हो। पुराना तस्बिरहरूसहित समय परिवेश अनुसारका घटना र विकासक्रमलाई जोडेर पाठकहरूलाई जानकारी दिने उद्देश्यले ‘सीमान्त सम्झना’ बजारमा आएको छ। लेखक लाठ यो कृतिलाई पाठकहरूले मन पराउनेमा विश्वस्त छन्।