काठमाडौं । काठमाडौं–हेटौँडा जोड्ने प्रमुख सडकमध्येको कुलेखानी–कलंकी–हुमाने सडक आज (शुक्रबार) देखि मर्मतका लागि १९ दिनसम्म पूर्ण रूपमा बन्द हुने भएको छ। प्रहरी प्रधान कार्यालयले यो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्डमा कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयसँगको समन्वयमा सडक बन्द हुन लागेकाले सर्वसाधारणलाई असुविधा नहोस् भनेर यो सूचना जारी गरिएको बताए।
हेटौँडा–काठमाडौं वा काठमाडौं–हेटौँडा यात्रा गर्ने सवारीसाधनले अब कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सक्नेछन्। स्थानीय प्रशासन र स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ।