काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन्। बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले अबको दुई–चार दिनभित्रै नयाँ गभर्नर नियुक्त हुने दाबी गरे।
उनले गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति सिर्जना भएपछि सरकारले महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको नयाँ सिफारिस समिति गठन गरेको बताए।
गुरुङले भने, “गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ। विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो, त्यो डिफङ भयो। त्यसपछि फेरि हामीले पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ। डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो। काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ।”