पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर-४ स्थित पोखरिया अस्पतालले अबदेखि नसा तथा हाडजोर्नी, बाल रोग र डेन्टल सम्बन्धी विशेषज्ञ सेवाहरू प्रदान गर्ने भएको छ।
अस्पतालको सभा हलमा आयोजित एक विशेष कार्यक्रममा यी सेवाहरूका लागि नियुक्त भएका ४ जना चिकित्सक, नर्सिङ स्टाफ र अहेवलाई पोखरिया अस्पतालले स्वागत गर्दै सम्मान गरेको छ।
पोखरिया नगरपालिकाका मेयर तथा पोखरिया अस्पताल विकास समितिका अध्यक्ष प्रदुमन प्रसाद चौहानले कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालको विकास र प्रगतिका लागि आफू निरन्तर लागिरहेको बताए।
उनले पोखरिया अस्पतालमै बाल रोग, नसा तथा हाडजोर्नी, डेन्टल र नर्सिङ विशेषज्ञहरूले सेवा सुरु गरेपछि ग्रामीण क्षेत्रका बिरामीहरू वीरगञ्ज तथा निजी अस्पतालहरूमा चर्को शुल्क तिर्नुपर्ने बाध्यताबाट मुक्त हुने विश्वास व्यक्त गरे। अब स्थानीय स्तरमै सहज र सुलभ रूपमा समयमै उपचार उपलब्ध हुने उनको भनाइ थियो।
सम्मानित हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा नसा तथा हाडजोर्नी विशेषज्ञ डा. अरविन्द साह, डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिङ अधिकृत तथा अस्पताल निरीक्षक सवेनाज बेगम र अहेव मधु यादव रहेका छन्।
यस सेवा विस्तारले पोखरिया क्षेत्रका बासिन्दाहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।
पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.आनन्द रौनियारको अध्यक्षतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान प्रमुख अतिथि थिए।
कार्यक्रममा डा.सुरेश यादव, पोखरिया नगरपालिका स्वास्थ्य शाखाका सहायक शिव पटेल, दीपिका सिंह, भगवान प्रसाद कुर्मी, बृजेश दुबेदी लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।