काठमाडौं । काठमाडौंको मखन गल्लीमा आज बिहान भीषण आगलागी भएको छ। काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीको सुरज आर्केडपछाडि रहेको चार तले घरबाट बिहान ६ः५० बजे आगलागी सुरु भएको हो।
प्रहरीका अनुसार दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी भएको र आगो छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि फैलिएको छ।
यद्यपि, अहिलेसम्म मानवीय क्षति भने भएको छैन। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली ६ वटा दमकलसहित आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्, तर आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।