वीरगञ्ज । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को पछिल्लो निर्णयविरुद्ध विद्यार्थीहरू आक्रोशित भएका छन्। शैक्षिक माफियाहरूको दबाब र चलखेलमा परी CTEVT ले प्रवेश परीक्षा प्रणाली खारेज गरी केवल GPA को आधारमा भर्ना लिने निर्णय गरेपछि विद्यार्थी संगठनहरूले कडा आपत्ति जनाएका छन्।
अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमदले CTEVT को यो निर्णय शिक्षा क्षेत्रलाई पहुँच, सिफारिस र सिण्डिकेटको चंगुलमा फसाउने षड्यन्त्र भएको बताएका छन्। उनले भने, “यो निर्णयले परिश्रमी, क्षमतावान् र विपन्न विद्यार्थीहरूमाथि गम्भीर अन्याय गर्नेछ। यसले शैक्षिक माफियाहरूलाई खुलेआम चलखेल गर्ने बाटो खोलिदिएको छ, जुन हामी कदापि स्वीकार्न सक्दैनौं।”
सचिव अहमदले CTEVT को यो निर्णयको घोर भर्त्सना गर्दै तत्काल फिर्ता लिन माग गरेका छन्। उनले योग्यता र प्रतिस्पर्धाका आधारमा मात्र भर्ना प्रक्रिया अगाडि बढाउन जोड दिएका छन्।
शिक्षामा निष्पक्षता, पारदर्शिता र समान अवसर कायम राख्नु राज्य र सम्बन्धित निकायहरूको कर्तव्य भएको उनको भनाइ छ। यदि CTEVT ले यो जनविरोधी निर्णय नसच्याए अखिल क्रान्तिकारी सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
सचिव अहमदले भने, “हामी विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने जो कोहीलाई पनि छोड्ने छैनौं। यो निर्णय फिर्ता नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ र हामी सडकमा उत्रन बाध्य हुनेछौं।”
CTEVT को यो निर्णयले देशभरका विद्यार्थीहरूमा निराशा र आक्रोश पैदा गरेको छ। विद्यार्थी संगठनहरूले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेका छन्।