काठमाडौं । काभ्रेमा सोमबारको बाढीले बगाएर बेपत्ता भएकी महिला रेनुका गिरीको अवस्था अझै अज्ञात छ। प्रहरीले उनको खोजीकार्य जारी राखेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, हिजोदेखि नै खोजी सुरु भए पनि राति स्थगित गरिएको थियो र आज बिहानैदेखि पुनः खोजी थालिएको छ।
बाढीले पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्तीमा क्षति पुर्याएको छ। माम्तीमा दुवैतर्फ बाटो अवरुद्ध छ भने कटुन्जेबेसी र बोक्सीकुनामा एकतर्फी सञ्चालन भइरहेको छ।
रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ को सिमानामा पर्ने माम्ती खोला नजिकै डाइभर्सन बगाएपछि बीपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। गत असोजको बाढीले बगाएको सडकमा ह्युमपाइप राखेर अस्थायी व्यवस्था गरिएको थियो, जुन सोमबारको बाढीले पुनः बगाएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार, माम्तीमा आज बिहानैदेखि बाटो मर्मतको काम भइरहेको छ। मर्मत कार्य जारी रहेकाले पूर्वतर्फबाट आइरहेका सवारी साधनलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंतर्फबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको छ।