वीरगन्ज । शान्तिका दूत भगवान बुद्धको २५६९ औं जयन्ती आज वीरगन्जसहित देशभर हर्षोल्लासका साथ मनाइएको छ। वीरगन्जमा वीरगन्ज बौद्ध समिति र तासी साङ थर्वालिङ गुम्बाको संयुक्त आयोजनामा शान्ति -याली र विविध धार्मिक कार्यक्रमको आयोजना गरियो, जसले नगरलाई बुद्धमय बनाएको थियो।
बिहान वीरगन्जको माईस्थानबाट सुरु भएको भव्य शान्ति -यालीमा सहभागीहरूको उत्साहजनक उपस्थिति थियो। विभिन्न झाँकीहरू प्रस्तुत गरिएको उक्त -याली घण्टाघर, लिंकरोड बसपार्क, दोश्रो बाईपास हुँदै कृष्णप्रणामी मन्दिर परिक्रमा गरी भिस्वास्थित बौद्ध बिहारमा पुगेर समापन भएको थियो। जहाँ पूजापाठ र प्रसाद वितरण गरिएको थियो। साँझ भिस्वा बिहार परिसरमा दीप प्रज्ज्वलन समेत गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण भिस्वास्थित गुम्बा परिसरमा स्थापना गरिएको बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रतीक ‘मणि खोर्लो’ को उद्घाटन थियो। विभिन्न दाताहरूको सहयोगमा करिब १४ लाख रुपैयाँको लागतमा निर्मित यो मणि खोर्लोमा एक सय करोड मन्त्र जप गरिएको तासी साङ थर्वालिङ गुम्बाका सल्लाहकार छेडुप लामाले जानकारी दिए ।
उनका अनुसार मणि खोर्लो ललितपुर इमाडाेल निवासी समाजसेवी सन्ध्या स्याङबो तथा गौतम माविका संस्थापक निमा लामा, प्रधानाध्यापिका उर्मिला लामा, निर्देशक सोनम लामा र सहायक प्रधानाध्यापिका परीक्षा लामा सहित परिवारकाे पहलमा स्थानीयर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट सहयोग संकलन गरेर निर्माण गरिएको हो ।
सन्ध्या स्याङबो पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बषन्त लामाका दिदी हुन् । उनले आमा बुवाको मणि खोर्लो स्थापना गर्ने चाहाना अनुसार भिस्वा गुम्बामा स्थापना गरिएको जानकारी दिईन् ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले एक समारोहका बीच मणि खोर्लोको अनावरण गरे । लामा गुरुहरुले पूजापाठ गरेपछि शुभसाईतमा मणि खोर्लोका अनावरण गरिएको थियो । उद्घाटनपश्चात् बोल्दै नगर प्रमुख सिंहले भिस्वा बिहारलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय सरकारले काम अगाडि बढाएको जानकारी गराए ।
उनले आगामी वर्षको बुद्ध जयन्ती भिस्वामा अझ भव्य र फरक तरिकाले मनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसको तयारीका लागि वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव र मेयर सिंहका सल्लाहकार इन्जिनियर प्रकाश अमात्यलाई जिम्मेवारी दिईएको बताए ।
त्यसअघि नगर प्रमुख सिंहले बौद्ध विहार परिसरमा आयोजित कार्यक्रममा सहभागी भई पूजापाठ गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको थियो। टाँसी साङ थर्वालिङ गुम्बाका अध्यक्ष राम बहादुर लामाकाे अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, एन–प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ लगायत विभिन्न विद्यालयका संस्थापक, सञ्चालक, शिक्षक, शिक्षिका, विद्यार्थीहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यसरी वीरगन्जमा २५६९ औं बुद्ध जयन्ती शान्ति र सद्भावको सन्देश दिँदै, धार्मिक पर्यटनको विकासको आशा जगाउँदै भव्यतापूर्वक सम्पन्न भएको छ।