काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) घटेर ३.३९ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, गत वर्ष २०८० चैत महिनामा महँगी ४.६१ प्रतिशत थियो।
राष्ट्र बैंकले जनाए अनुसार, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ।
चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
क्षेत्रगत रूपमा हेर्दा, चैतमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत महँगी २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकले मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्न महँगीलाई ५ प्रतिशतको हाराहारीमा राख्ने प्रक्षेपण गरेको थियो।